प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ: उहाँले गर्दा असभ्य नहुने, मैले बोल्दा असभ्य हुन्छ ?
२०८१ भदौ २३ गते
२३ भदौ, विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई असभ्य भएको आरोप लगाएका छन्। केही दिन अघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको प्रतिक्रिया जनाएका थिए।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको व्यवहारलाई असभ्य भने। उनले भने, “को सभ्य र को असभ्य भन्ने कुरा तपाईंहरुले सुन्नु भएको छ। मैले प्रतिनिधिसभामा नै भनेको थिएँ, यति झुट, बेइमानी, अनैतिकता र जालझेलको तरिकाले अपनाउनु भयो। उहाँले मेरो कुरा असभ्य भने, तर मैले के असभ्य गरेको छु? उहाँले असभ्य काम गरेनन् भने मैले असभ्य काम गरेँ भने असभ्य हुन्छ कि?”
प्रचण्डले एमाले र कांग्रेसको सरकारले सत्ता सम्हालेपछि माओवादी केन्द्र पार्टी निर्माणमा केन्द्रित भएको जानकारी दिए। उनले भने, “हामी अहिले सरकार निर्माणको खेलमा छैनौं। पार्टी बनाउनेतिर ध्यान केन्द्रित गरेका छौं। अहिले माओवादी पार्टी निर्माणको काममा लाग्नेछौं। सरकार बनाउनेतिर हाम्रो ध्यान छैन।”
प्रचण्डले आफ्नो नेतृत्वमा भएको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाएको कारण टिक्न नपाएको आरोप लगाएका छन्। उनले नेपाललाई बंगलादेश बनाउने कुरा कहिल्यै नभएको दाबी गरे। प्रचण्डले भने, “दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो, त्यही नगर्नुहोस्। मैले भनेको भने अहंकार नगर्नु र जनताविरुद्ध जानु हो। नेपाललाई बंगलादेश बनाउने कुरा मैले कहिल्यै भनेको छैन।”
Comments
Post a Comment