पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड

 पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।​ 

खुलमटारमा एक कार्यक्रमका बीच उनले शुक्रबार नेपालका लागि ओलम्पिकमा पहिलो पदक  प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन् ।

उनले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोवर्धनलाई पनि सम्मान गरेका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिँदै यो जीतले संसारभरि रहेका नेपालीहरूले गौरव गर्ने अवसर प्राप्त भएको बताए ।

‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जीत हो ।’

खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्त्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उनले बताए ।

‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन्,’ उनले भने ।​

पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्द्धनमा ऐतिहासिक बन्न पुगेको उनले बताए । आगामी ओलम्पिकमा पनि थप सफलताका लागि उनले शुभकामना दिए ।



Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त